वीरगञ्ज। पर्साको जीराभवानी गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटकुइयामा अध्ययनरत बाल विकासदेखि कक्षा ४ सम्मका १५६ विद्यार्थी चिसो हावामा भुईँमा बसेर अध्ययन गर्न बाध्य छन्। ४९ वर्ष पहिले स्थापित यो विद्यालयमा आजसम्म आवश्यक पूर्वाधारको अभाव छ।
विद्यालयका प्रारम्भिक दिनहरूमा बाल विकास र कक्षा ४ सम्मका विद्यार्थीलाई रूखमुनि बसेर अध्ययन गराइन्थ्यो। गाउँपालिकाले दुई वर्षअघि चार कोठे भवन निर्माणको कार्य सुरु गरेको भए पनि भवन अधूरो छ। प्लास्टर, झ्याल ढोका र बिजुली जडानको काम अझै बाकी रहेको प्रधानाध्यापक कृपासिन्धुप्रसाद पटवारीले जानकारी दिए।
भवन निर्माण भए पनि फर्निचरको अभावका कारण बालबालिका चिसो भुईँमा बसेर अध्ययन गर्न बाध्य छन्। विद्यार्थीहरूले घरबाट बोरा ल्याएर भुईँमा बिछ्याएर अध्ययन गर्छन्। गर्मी मौसममा समस्या कम भए पनि चिसो मौसममा झ्याल ढोका नहुनु र चिसो हावा प्रवेश गर्नु विद्यार्थीहरूको लागि थप समस्याको कारण बनेको छ।
कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई सुविधासम्पन्न कक्षाकोठा र डेस्क-बेन्च उपलब्ध गरिएको भए पनि बाल विकासदेखि कक्षा ४ सम्मका साना बालबालिका अझै प्रतिकूल वातावरणमा अध्ययन गर्न विवश छन्।
विद्यालय प्रशासनले पालिकालाई पटक-पटक समस्या अवगत गराएको भए पनि बजेट अभावका कारण निर्माण कार्य रोकिएको पालिकाले जनाएको छ। प्रधानाध्यापक पटवारीले भने, “बजेट आउने बित्तिकै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।”
५० वर्ष पूरा गर्दै स्वर्ण जयन्ती मनाउने तयारीमा रहेको विद्यालयको समस्याले स्थानीय निकाय र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन आवश्यक देखिन्छ।