वीरगञ्ज । ट्रकले किचेर हेटौँडाको सडक छेउमा बोरा ओढी सुतेका एक युवकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम सडक खण्डको हेटौँडा उपमहानगरपालिका–४ मा वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेका ना ६ ख ३३७६ नम्बरको ट्रकले किचेर हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलका ३३ वर्षीय श्रीकृष्ण न्यौपानेको मृत्यु भएको हो ।
कनिका लोड गरेको ट्रक रजत जयन्ती चोकबाट मोड्न खोज्दा सडक छेउमा बोरा ओढी सुतेका न्यौपानेलाई किचेर घाइते बनाएको थियो ।
घाइते न्यौपानेलाई उपचारका निम्ति भरतपुर लगिएको थियो । उपचार गर्ने क्रममा उनको बुधवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। न्यौपाने बजार क्षेत्रमा मजदुरी गरेर सडकमै सुत्ने गरेका थिए । उनी लामो समयदेखि घर गएका थिएनन् ।