वीरगञ्ज । वीरगञ्जलाई हेटौँडा हुँदै सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले उक्त सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्रे गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।
सडक स्तरोन्नतिका निम्ति कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोक पथ, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिङ सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।