वीरगञ्ज । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मङ्गलवार आठौँ पटक अदालतमा उपस्थित गराउँदै छ ।
सूर्य दर्शन सहकारी प्रकरणमा चलिरहेको अनुसन्धानका लागि सरकारी वकिललाई थप समय आवश्यक परेको भन्दै लामिछानेको हिरासत अवधि ४ दिन थप्न अदालतमा निवेदन दिइने प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्त शर्माले जानकारी दिए ।
प्रहरी हिरासतमा ६१ दिन बिताइसकेका लामिछानेको म्याद सम्भवतः अन्तिम पटक थपिने अनुमान गरिएको छ । कास्की प्रहरीले सूर्य दर्शन सहकारीमा अनियमितता सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ ।
सरकारी वकिल कार्यालयले पुस ६ गतेभित्र जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । सहकारी ठगी प्रकरणमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउने तयारी भइरहेको छ । तीमध्ये ३७ जना फरार छन् भने १४ जना पक्राउ परेका छन् ।
अनुसन्धान प्रतिवेदन अनुसार, प्रतिवादीहरूमाथि करिब एक अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको ठगी आरोप लागेको छ ।
सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनलाई आधार मान्दै आवश्यक प्रमाणहरूको अध्ययन र अभियोजनका लागि थप समय मागेको हो । अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ ।
कास्की प्रहरीले लामिछानेसँगै पक्राउ परेकामध्ये अन्य व्यक्तिहरूको भूमिका, सम्पत्ति र सहकारीको आर्थिक विवरणबारे व्यापक छानबिन गरेको छ ।
अनुसन्धान प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दर्ता भए लगत्तै सहकारी प्रकरणको कानुनी प्रक्रिया अघि बढ्नेछ । लामिछानेको यो मुद्दा सहकारी क्षेत्रको अनियमिततासँग सम्बन्धित ठूला मुद्दामध्ये एकका रूपमा रहेको छ, जसले सहकारी क्षेत्रको पारदर्शितामाथि प्रश्न उठाएको छ ।
यस प्रकरणको थप विवरणका लागि आगामी दिनमा अदालतको निर्णय प्रतीक्षामा छ ।