बारा । बाराको बरियापुरमा जारी विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा ठेकेदारद्वारा मनपरी शुल्क असुल गरिएको भन्दै व्यवसायी र सर्वसाधारणले गम्भीर आपत्ति जनाएका छन् ।
मेला क्षेत्रमा होटेल, पसल, मनोरञ्जनका साधन लगायतका स्टल सञ्चालन गर्ने व्यवसायीहरूसँग बिजुली व्यवस्थापन उपसमितिबाट ठेक्का लिएका ठेकेदारले अत्यधिक शुल्क असुल गरिरहेको उजुरी प्राप्त भएको छ ।
ठेकेदार वीरेन्द्र साह कानुले सीएफएल बल्बको प्रकार अनुसार प्रतिदिन ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म शुल्क लिँदै आएको प्रमाण भेटिएको छ । ९ वाटको बल्बको शुल्क ५० रुपैयाँ, १८ वाटको १ सय रुपैयाँ, २५ वाटको १ सय ५० रुपैयाँ, ५० वाटको २ सय ५० रुपैयाँ, १ सय वाटको ७ सय ५० रुपैयाँ, र २ सय वाटको बल्बको एक दिनको शुल्क १ हजार रुपैयाँ लिइएको व्यवसायीहरूको गुनासो छ ।
स्टल राख्नका लागि जग्गा भाडामा पनि अचाक्ली शुल्क तिर्नु परेको भन्दै व्यवसायीहरू आक्रोशित बनेका छन् । बल्बको शुल्कबारेको मनपरीताले मेलामा आउने सर्वसाधारण र व्यवसायीहरूलाई मार परेको छ ।
गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका महासचिव वीरेन्द्र यादवले ठेकेदारद्वारा लिइएको मनपरी शुल्कबारे असहमति जनाउँदै सम्बन्धित पक्षलाई जवाफ मागिने बताएका छन् ।
यादवका अनुसार, समितिले ठेकेदारलाई एउटा बल्बको प्रतिदिन शुल्क ४० देखि ५० रुपैयाँ मात्र लिन निर्देशन दिएको थियो । तर, ठेकेदारले यसको उल्लङ्घन गरेको जनाइएको छ ।
मूल समितिले मेला क्षेत्रमा बिजुली व्यवस्थापनका लागि ठेकेदार साहसँग १८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । मेला सकिएपछि ठेकेदारले खपत भएको बिजुलीको युनिटको हिसाबले प्रति युनिट १९ रुपैयाँ ७५ पैसा समितिलाई तिर्नुपर्ने प्रावधान रहेको छ ।
स्थानीय व्यवसायी र मेलाका सहभागीहरूले ठेकेदारद्वारा मच्चाइएको ब्रह्मलुट तत्काल रोक्न माग गरेका छन् । मूल समितिले यसबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ ।