वीरगञ्ज। वीरगञ्जको रामगढवामा रहेको ज्ञानदा एकेडेमीको खेल मैदानमा वीरगञ्ज बैंकर्स लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ। यस प्रतियोगिताको आयोजना नेशनल स्पोर्ट्स एकेडेमीले गरेको हो र यसका लागि ज्ञानदा एकेडेमीले सहयोग गरेको छ।
प्रतियोगिताको उद्घाटन समारोह ज्ञानदा एकेडेमीका अध्यक्ष सन्दीप तुल्स्यानको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले प्रतियोगिताको महत्वमाथि प्रकाश पारे। ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य दिँदै प्रतियोगिताको उद्देश्य र औचित्यबारे जानकारी दिएका थिए।
कार्यक्रममा वीरगञ्ज बैंक ग्रुपका अध्यक्ष रोहिणी आचार्य, ज्ञानदा एकेडेमीका विनीत लोहिया र अन्य अतिथिहरूले पनि मन्तव्य व्यक्त गरेका थिए। प्रतियोगितामा वीरगञ्जका १३ वटा बैंकका कर्मचारीहरूले सहभागिता जनाएका छन्। उद्घाटन दिनको खेलमा सिद्धार्थ बैंक र एनएमबी बैंक बिच प्रतिस्पर्धा हुनेछ। आगामी खेलहरूमा प्रभु बैंक र एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंक, सिटीजन बैंक र प्राइम बैंक आमनेसामने हुनेछन्।
यो प्रतियोगिता रात्रिकालीन समय (साँझ ७ बजे) सञ्चालन हुनेछ। उद्घाटन समारोहको सहजीकरण रामप्रसाद पाण्डेले गरेका थिए। कार्यक्रममा विभिन्न बैंकका कर्मचारी खेलाडी, ज्ञानदा एकेडेमी तथा नेशनल स्पोर्ट्स एकेडेमीका पदाधिकारीहरूको उपस्थिति थियो।
वक्ताहरूले बैंकर्स लिगले बैंक कर्मचारीहरूको बीचमा सहकार्य, खेल भावना र स्वास्थ्य सुधारमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।