काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा इंग्लिस क्लब लिभरपुलले साविक विजेता रियल मड्रिडलाई २-० ले पराजित गरेको छ ।
लिभरपुलले स्पानिस क्लब रियललाई १५ वर्षपछि पहिलो पटक पराजित गरेको हो । यसअघि च्याम्पियन्स लिगको दुई फाइनल सहित ८ खेलमा लिभरपुल जित निकाल्न असफल भएको थियो । तर यस पटक भने लयमा रहेको लिभरपुलले रियललाई सहजै हरायो ।
लिभरपुलका मोहमद सालाल पेनाल्टीमा चुकेपनि एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोको गोलमा लिभरपुलले जित हात पारेको हो । च्याम्पियन्स लिगमा लिभरपुलको यो लगातार पाँचौ जित हो र शतप्रतिशत नतिजा निकाल्ने एक्लो टोली पनि हो । ५ खेलबाट १५ अंक जोडेर लिभरपुल शीर्ष स्थानमा उक्लेको छ । तेस्रो हार व्यहोरेको रियल समान खेलबाट ६ अंकसहित २४औं स्थानमा छ ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुई गोल गर्यो । ५२औं मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ७६औं मिनेटमा गाक्पोले गोल गरे ।
खेलमा लिभरपुल र रियल दुवैले पेनाल्टी मिस गरेका थिए । रियलका केलिएन एमबाप्पेले ६१औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । लिभरपुलका सालाहले ७०औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन्