वीरगञ्ज । बिजुलीको महसुल नतिर्ने उद्योगीका पक्षमा सरकार लागेपछि नेपाल विद्युत् प्राधिकरणले विकल्पमा कडा कदम चालेको छ । प्राधिकरणले महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधवार पत्राचार गर्दै ३४ वटा उद्योगको खाता रोक्का गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेका हुन् ।
१५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको सरकारले आफ्नै निर्णयविरुद्ध प्राधिकरणलाई उद्योगको लाइन नकाट्न र वैकल्पिक उपाय सोच्न परिपत्र गरेको थियो । सरकारले दिएको १५ दिनको समय बुधवार सकिएको हो ।
मङ्गलवार ऊर्जा मन्त्री दीपक खड्काको दबाबमा विद्युत् नियमन आयोगले उद्योगमा लाइन नकाट्न र बक्यौता नतिर्ने उद्योगबाट रकम वैकल्पिक उपाय सोच्न प्राधिकरणलाई पत्राचार गरेको थियो । प्राधिकरणले आयोगको परिपत्र अनुसार बक्यौता नतिर्ने उद्योगहरूको खाता रोक्न राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।
त्यस्तै, बक्यौता नबुझाउने उद्योगका लगानीकर्ताले अन्य कम्पनी चलाएको भए उनीहरूलाई सेयर जारी गर्न र धितो बन्धक दिन रोक्का गरिदिन कम्पनी रजिस्ट्रारको कार्यालय र धितो पत्र बोर्डलाई पनि उनले आग्रह गरेका छन् ।
प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता रहेका उद्योगका कार्यकारी सञ्चालकहरूको घरको लाइन समेत काट्ने भएको छ ।
प्राधिकरण विद्युत् महसुल सङ्कलन विनियमावलीमा लाइन काट्न मिल्ने व्यवस्था रहेकाले सोही व्यवस्था बमोजिम काट्न लागिएको प्राधिकरणले जनाएको छ ।