वीरगञ्ज । रसिया–युक्रेन युद्धका कारण प्रभावित विश्व अर्थतन्त्रका बाबजुद, युक्रेन नेपालका लागि तेस्रो ठूलो आयातकर्ता मुलुक बनेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा (साउनदेखि कात्तिकसम्म) नेपालले युक्रेनबाट करिब ९ अर्ब १० करोड रुपैयाँ बराबरको सामान आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
नेपालले आयात गर्ने सूचीमा परम्परागत रूपमा अग्रस्थानमा रहेका छिमेकी मुलुक भारत र चीनपछि युक्रेन तेस्रो स्थानमा रहेको छ ।
नेपालले युक्रेनबाट मुख्य रूपमा कच्चा सूर्यमुखी तेल आयात गरेको छ । चालु वर्षका चार महिनामा मात्रै नेपालले ८ अर्ब २५ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल युक्रेनबाट ल्याएको छ । यसबाहेक, कच्चा भटमास तेल, धनियाँको बीउ, गहुँ, र तोरीका दानालगायतका वस्तु पनि नेपालले युक्रेनबाट आयात गर्ने सूचीमा समावेश छन् ।
युक्रेनबाट ठूलो परिमाणमा सामान आयात गरिरहे पनि नेपालले त्यसतर्फको निर्यात अत्यन्तै न्यून रहेको तथ्याङ्कले देखाउँछ । चालु वर्षको कात्तिकसम्म नेपालले युक्रेनमा करिब ३५ लाख रुपैयाँ बराबरको कुकुर र बिरालोको खाना निर्यात गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा पनि युक्रेन नेपालका लागि चौथो ठूलो आयातकर्ता मुलुक रहेको थियो । सो अवधिमा नेपालले युक्रेनबाट करिब ६ अर्ब ४१ करोड रुपैयाँ बराबरको सामान आयात गरेको थियो, तर त्यति बेला नेपालको युक्रेनतर्फको निर्यात शून्य रहेको थियो ।
युद्धको चपेटामा रहेर पनि व्यापार सम्बन्ध कायम राख्दै आएको युक्रेनसँगको आयात–निर्यातले नेपाल–युक्रेन व्यापारिक सम्बन्धलाई निरन्तरता दिएको सङ्केत गर्छ ।