वीरगञ्ज । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरको विकासका लागि सरकारको विशेष ध्यानाकर्षण रहेको बताएका छन् ।
मङ्सिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा शनिवार सहभागी भई मन्दिरको दर्शन गरेपछि मन्त्री चौरसियाले मन्दिरको विकास र संरक्षणका लागि ठोस कदम चालिने प्रतिबद्धता जनाएका हुन् ।
मन्त्री चौरसियाले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक पहल हुने बताए । उनले मन्दिर क्षेत्रको व्यवस्थापन र धार्मिक पर्यटकको सुविधाका लागि सरकारले सहयोग पुर्याउने उल्लेख गर्दै अर्को धर्मशालाको आवश्यकता औँल्याए ।
“गढीमाई मन्दिरको महत्त्व विश्वभर फैलिएको छ । यसको समग्र विकासका लागि बृहत्तर गढीमाई विकास समिति गठन गरिनेछ,” उनले भने ।
मन्त्री चौरसियाले मेलाको व्यवस्थापन समितिका पदाधिकारीहरूसँग छलफल गर्दै मेलालाई व्यवस्थित र सुरक्षित बनाउन सरकारको पूर्ण सहयोग रहेको बताए । “गढीमाई मन्दिरको विकासका लागि आगामी वर्षको बजेटमा विशेष व्यवस्था गरिनेछ,” उनले थपे ।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले गढीमाई मन्दिरलाई मात्र धार्मिक आस्थाको केन्द्र नभई क्षेत्रको आर्थिक, सांस्कृतिक, र पर्यटकीय विकासको आधारसमेत रहेको बताए ।
“मन्दिर क्षेत्रको व्यवस्थापन र पूर्वाधार निर्माणमा नगरपालिका सदैव प्रतिबद्ध छ । सङ्घीय सरकार र स्थानीय तह मिलेर यसलाई नमुना धार्मिक स्थल बनाउनुपर्छ,” मेयर यादवले भने । उनले मेलाको व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय समुदाय र समिति सक्रिय रहेको जानकारी दिए ।
गढीमाई मन्दिर विश्वकै ठूला धार्मिक आस्थाका केन्द्रमध्ये एक हो । यहाँ पाँच वर्षमा एक पटक लाग्ने गढीमाई मेलामा लाखौँ भक्तजनहरू नेपाल र भारतलगायत विभिन्न देशबाट आउँछन् । यस मन्दिरलाई मनोकामना पूरा गर्ने देवीको रूपमा पुजिन्छ । मेलाको दौरान गरिने धार्मिक गतिविधि र पशुपक्षी बलिको परम्पराले विश्वभरको ध्यान तान्दै आएको छ ।
गढीमाई मेला श्रद्धालुहरूको मनोकामना पूरा हुने आस्थाको प्रतीक मानिन्छ । पाँच वर्षमा एक पटक आयोजना हुने यो मेला नेपाल–भारत सम्बन्ध र सांस्कृतिक सहकार्यको ज्वलन्त उदाहरण पनि हो । मेलामा मात्र होइन, दैनिक रूपमा पनि मन्दिरमा भक्तजनहरूको ओइरो लागिरहन्छ ।
गढीमाईको महत्त्व र यसको अद्वितीय धार्मिक परम्परालाई संरक्षण गर्दै आगामी दिनमा यस क्षेत्रलाई विश्व स्तरमा परिचित गराउनेतर्फ सरकारको पहल महत्त्वपूर्ण हुने स्थानीय वासीहरूको विश्वास छ ।
धार्मिक पर्यटन प्रवर्द्धन र क्षेत्रीय विकासको मुख्य आधार मानिएको गढीमाई मन्दिरको संरक्षणमा सरकारले अझ व्यापक नीति अवलम्बन गर्नुपर्नेमा स्थानीय समुदायले पनि जोड दिएको छ ।