काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)ले आज काठमाडौँमा शक्ति प्रदर्शन(जागरणसभा) गर्दैछ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरणसभा आयोजना गर्न लागेको हो ।
जागरणसभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ ।
बिहान साढे ११ बजे जुलुस सुरु गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुनेछ ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले जनाएको छ।