वीरगञ्ज । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा शुक्रवार सम्पन्न कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा क्वेस्ट फार्मास्युटिकल ग्रुपले नेपाल टेलिकमलाई ६ विकेटले पराजित गर्दै शानदार जीत हासिल गरेको छ ।
टस जितेर फिल्डिङ रोजेको क्वेस्ट फार्मास्युटिकल टोलीले नेपाल टेलिकमलाई ६ ओभरमा ५४ रनमै सीमित गर्यो । टेलिकमका खेलाडीहरूको प्रयासलाई विफल बनाउँदै क्वेस्टले उत्कृष्ट बलिङ प्रदर्शन गर्यो । जवाफमा, क्वेस्ट फार्मास्युटिकलले ५ ओभरमै ५५ रन पूरा गरी खेलमा विजय प्राप्त गर्यो ।
क्वेस्ट फार्मास्युटिकल ग्रुपका प्रबल कसाजुले उत्कृष्ट प्रदर्शन गर्दै “प्लेयर अफ दी म्याच” को उपाधि जिते । बलिङ र ब्याटिङ दुवैमा उनको योगदान निर्णायक रह्यो ।
प्रतियोगिताको आयोजना लायन्स क्लब अफ वीरगञ्ज परिवार र स्पोर्ट्स एकेडेमीको संयुक्त पहलमा गरिएको हो ।
प्रतियोगितामा वीरगञ्जका वाणिज्य बैंक, बिमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठानहरू गरी १६ टोली सहभागी छन् ।
खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै सलिको इन्स्योरेन्सले प्रत्येक खेलाडीका लागि १ लाख रुपैयाँसम्मको उपचार बिमा गरेको छ । यस्तै, स्वास्थ्य उपचारका लागि प्रभु हस्पिटलले सहकार्य गरिरहेको छ ।