काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज दरबारमार्गमा आयोजना गर्ने जागरणसभाका लागि भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ।
एमालेले काठमाडौँ, भक्तपुर, ललितपुरलगायतका आसपासका जिल्लाबाट करिब एक लाख मानिसको उपस्थिति सुनिश्चित गर्ने लक्ष्यसहित तयारी गरेको छ। काठमाडौँ, भक्तपुर, र ललितपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा हुने यस कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार राष्ट्रिय सद्भाव र एकता कायम गर्ने उद्देश्यले यो जागरण सभा आयोजना गरिएको हो। सभा सम्पन्न गर्न व्यापक तयारी गरिएको र यसले एमालेको संगठन र जनतासँगको सम्बन्ध थप बलियो बनाउने विश्वास गरिएको छ।
कार्यक्रमको मुख्य भाग दरबारमार्गमा हुनेछ, जहाँ विभिन्न वक्ताहरूले वर्तमान राजनीतिक अवस्था, पार्टीको भूमिका, र राष्ट्रिय एकताको आवश्यकता सम्बन्धमा धारणा राख्नेछन्।
सभामा सहभागिताका लागि बिहानैदेखि विभिन्न स्थानबाट एमाले कार्यकर्ता र समर्थकहरू भेला हुँदै दरबारमार्गतर्फ जुटिरहेका छन्। र्यालीले उत्साहजनक वातावरण सिर्जना गरेको छ भने सुरक्षाका लागि विशेष प्रबन्ध गरिएको छ।