वीरगञ्ज । पर्सा जिल्लाको गौतम माध्यामिक विद्यालयले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी रिया साहलाई विशेष सम्मान गरेको छ।
विद्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा ३.९७ जिपिए ल्याएर जिल्लाकै उत्कृष्ट बन्न सफल साहलाई नगद २५ हजार सहित खादा ओढाएर सम्मान गरियो। प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले उक्त सम्मान प्रदान गर्नुभयो।
विद्यार्थी रिया साहले २०८० को एसईई परीक्षा गौतम माध्यामिक विद्यालयबाट दिनुभएको थियो। शुरुमा कम्प्युटर विषयमा कम नम्बर आएपछि उहाँले पुर्नयोगको लागि आवेदन दिनुभएको थियो। पुर्नयोगपछि उहाँले ३.९७ जिपिए प्राप्त गर्न सफल हुनु भयो, जसले पर्सा जिल्लाकै उच्चतम नतिजा हासिल गर्नुभयो।
सम्मान समारोह विद्यालयकै प्राङ्गणमा आयोजित भएको थियो। कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापिका परीक्षा पिया लामाको अध्यक्षतामा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष आलनेक चौरसिया, उपाध्यक्ष शिव गुप्ता, हिसानका केन्द्रीय सदस्य मनिष सिंह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, फोनिजका मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगर, र यात्राडेली डटकमका अध्यक्ष राम सर्राफलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सौराज प्रधानले गर्नुभएको थियो।
यस सम्मानले पर्सा जिल्लाका विद्यार्थीलाई अझै उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।