वीरगञ्ज। वीरगञ्जको आदर्शनगर रङ्गशालामा जारी कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा बिहीबार ओम्नी ग्रुपले शानदार प्रदर्शन गर्दै गरिमा विकास बैंकलाई ३७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
आजको खेलमा टस जितेर ओम्नी ग्रुपले पहिला ब्याटिङ गर्ने निर्णय गर्यो। निर्धारित ६ ओभरको खेलमा ओम्नी ग्रुपले ७३ रनको उत्कृष्ट स्कोर तयार पारे। ७४ रनको चुनौतीपूर्ण लक्ष्यको पछ्याउँदै मैदानमा उत्रेको गरिमा विकास बैंकका खेलाडीहरू मात्र ३६ रनमै समेटिएपछि ओम्नी ग्रुपले सजिलै जित हात पारेको हो।
खेलमा ओम्नी ग्रुपका रिकेश यादवले सर्वश्रेष्ठ प्रदर्शन गर्दै २८ रन बनाए। उनको उत्कृष्ट खेललाई कदर गर्दै उनलाई “म्यान अफ दी म्याच” घोषित गरिएको थियो।
यो प्रतियोगिता वीरगञ्जका वाणिज्य बैंक, विकास बैंक, बीमा कम्पनी र औद्योगिक प्रतिष्ठानका १६ वटा टिमहरूको सहभागिता रहेको छ। यस प्रतियोगिताको आयोजनामा लायन्स क्लब अफ वीरगञ्ज परिवार र स्पोर्ट्स एकेडेमीको संयुक्त पहल रहेको छ। लायन्स क्लबका उपाध्यक्ष नरोत्तम पाण्डेले प्रतियोगिता व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानहरूबीच सौहार्दता र खेलकुदको प्रवर्द्धनको लागि आयोजना गरिएको जानकारी दिए।
प्रतियोगिता अन्तर्गत भविष्यमा अन्य रोमाञ्चक खेलहरूको पनि आयोजना गरिनेछ। यो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता स्थानीय व्यवसायिक र सामाजिक वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।