सर्लाही । नेपाल–भारत सीमा क्षेत्रमा सुन तस्करीका खबरहरूसँगै लहसुन तस्करीको घटनामा पनि वृद्धि भएको देखिएको छ। सर्लाही र पर्साका सीमा नाकाबाट ठूलो मात्रामा लहसुन बरामद गरिएको छ।
सर्लाहीमा नक्कली बिलबिजकसहित ट्रक नियन्त्रणमा
सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका–५ को सखुअवा टोलबाट नेपाल–भारत सीमाक्षेत्रमा जाँदै गरेको प्रदेश ०२–०४–००१ ख ००६९ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार ट्रकमा साढे नौ टन लहसुन लोड गरिएको थियो। ट्रकसँग नक्कली बिलबिजक रहेको पाइएको छ।
बरामद लहसुन र ट्रकको बजार मूल्य क्रमशः १९ लाख र २१ लाख गरी कुल ४० लाख रुपैयाँ आँकलन गरिएको छ। बरामद लहसुन र ट्रकलाई आवश्यक कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको छ।
पर्सामा भण्डारण गरिएको लहसुन बरामद
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–३ स्थित झौवाँ गाउँबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारी परिमाणमा लहसुन बरामद गरेको छ। भारतमा तस्करी गर्न भण्डारण गरिएका १ सय २ बोरा लहसुन फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताका अनुसार झौवाँ गाउँस्थित योगेन्द्र यादवको कुखुरा फर्ममा लुकाएर राखिएको १७ क्विन्टल ८० किलो लहसुन बरामद गरिएको हो। बरामद लहसुनको बजार मूल्य ४ लाख ८० हजार ६ रुपैयाँ रहेको छ।
तस्करी नियन्त्रणका लागि विशेष अभियान
सर्लाही र पर्सा दुवै जिल्लाका प्रहरीले विशेष सूचनाको आधारमा तस्करी नियन्त्रणका लागि अभियान चलाइरहेको जनाएका छन्। भारतमा लहसुनको मूल्य महँगो भएकाले सीमाक्षेत्रबाट लहसुन तस्करी हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार, सीमा क्षेत्रमा तस्करीका गतिविधि नियन्त्रण गर्न निगरानी थप कडा पारिएको छ। साथै, तस्करीमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताइएको छ।