बारा । बारा प्रहरीले भन्सार छली तथा बिल भरपाईबिनाका १ करोड ५१ लाख ६ हजार ९४९ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको छ। मिति २०८१ मंसिर १ देखि ४ गतेसम्म अमलेखगंज, सिहासनी, मैनी, र पथलैया चोकमा चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका र बिल भरपाईबिनाका विभिन्न सामान बरामद गरिएको हो।
चेकजाँचका क्रममा अमलेखगंजमा मे १ ख ३२८८ नम्बरको बसबाट चिनी १४० किलो, मटर ५० किलो, प्याज ३५ किलो गरी २२,५०० रुपैयाँ बराबरका सामान बरामद गरियो। सिहासनी चोकमा चिनी ६ बोरा र अचार ४ कार्टुनको मूल्य २५,००० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। मैनी चोकमा BR 05 AC 2583 नम्बरको मोटरसाइकलमा लोड गरिएको मिठा ८ बोरा ३६,००० रुपैयाँ बराबरको फेला पारिएको थियो।
पथलैया चोकमा ना ५ ख ७९२८ नम्बरको ट्रकमा विभिन्न खुद्रा सामग्री ६१ लाख ३ हजार ४५० रुपैयाँ बराबरका र ना ३ ख ७२४४ नम्बरको ट्रकमा GAS cutter, flange, cast iron butterfly valve लगायतका सामान ४१ लाख ८५ हजार ५१४ रुपैयाँ बराबरका बरामद गरिएका थिए। त्यस्तै, यात्रुबाहक बसमा लोड गरिएको १ लाख ४४ हजार ४८५ रुपैयाँ बराबरका खुर्सानी, मरिच पाउडर, मसला र काजु पनि बरामद गरिएको थियो।
प्रहरीले यी सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ।