वीरगंज । ‘टोइलेट्सः ए प्यालेस, प्यालेस फर पिस’ भन्ने नाराका साथ आज विश्व शौचालय दिवस मनाइँदै छ । विश्व शौचालय दिवसको अवसरमा शौचालय स्वस्थ जीवन र सभ्य समाजको ऐना भन्दै शौचालयको दिगो व्यवस्थापनमा सरोकारवालाहरूले जोड दिएका छन् ।
शौचालय दिवसको पूर्व–सन्ध्यामा स्मार्ट वास सोलुसन्सद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनीहरूले सुरक्षित खानेपानी र सरसफाइ नागरिकको मौलिक अधिकार भए पनि सरकारले खासै चासो नदिएको बताए ।
फोहोरमैला व्यवस्थापनलाई समस्याका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र त्यसका लागि प्रविधि र लगानीमा जोड दिनुपर्ने उनीहरूको सुझाव छ । पूर्वमन्त्री गणेश साहले फोहोर मैलाकोे दिगो व्यवस्थापनबाट अन्य मुलुकहरूले अर्बौं रुपैयाँ आर्जन गरिरहेको भए पनि नेपाल भने चुकिरहेको बताए ।
उनले भने, ‘ट्वाइलेट, वासरुम हुँदै अहिले रेष्टरुम भएको छ, त्यसैले अबको स्मार्ट ट्वाइलेटमा जार्नुपर्छ । एनिमलको गोबरबाट ग्यास बन्छ भने मानिसको चाहिँ किन नबन्ने ?’ स्यानिटेसन क्षेत्रमा टिलियन डलर छ भन्दै उनले खानेपानी तथा फोहोरमैलाको दिगो व्यवस्थापनका लागि संघ, प्रदेश, स्थानीय तहका लागि सबै सरोकारवाला निकायले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्यान्जोले खानेपानी, शौचालय तथा फोहोर मैलाको दिगो व्यवस्थापनमा धुलिखेल नगरपालिकाबाट अन्य स्थानीय तह र संघ र प्रदेशले पनि सिक्न सक्ने बताए । तथापि, शौचालय, खानेपानी तथा सरसफाइ क्षेत्रमा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यमा समस्या रहेको पनि उनको तर्क थियो ।उनले विभिन्न विपद्को समयमा विपद स्थल अवलोकनका लागि केन्द्र र प्रदेश सरकार मन्त्रीहरूको लर्को लाग्ने तर सहयोग भने एक पैसा पनि नगर्ने गरेको गुनासोसमेत गर्नुभयो ।
सो अवसरमा मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष सोहनप्रसाद साह, बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाल, मधेश प्रदेशकी नीति तथा योजना आयोगकी उपाध्यक्ष डा. प्रमिला गच्छदारले पनि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयमा समस्या रहेको बताए । साथै नीतिगत समस्याका साथै स्रोत साधनको अभावले खानेपानी तथा सरसफाइ क्षेत्रमा अपेक्षाअनुसार काम गर्नसक्ने अवस्था नरहेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले भने आफूले पनि विगत स्थानीय तहमै काम गरेकाले स्थानीय तहका समस्या र चुनौतीबारे जानकार रहेको भन्दै मन्त्रालय स्थानीय तहलगायत सबै सरोकारवाला निकायसँग सहयोग र सहकार्यका लागि तयार रहेको बताए ।
आयोजक संस्था स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप साहको सभापतित्वमा भएको कार्यक्रमका वक्ताहरुले शौचालय तथा फोहोरमैलाको दिगो व्यवस्थापनमा जोड दिएका थिए ।