वीरगंज | मधेश प्रदेश सरकारले पहिलो पटक आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुने ऐतिहासिक सफलता प्राप्त गर्ने नेपाली टोलीका खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयले मधेश प्रदेशका खेलाडीलाई जनही १ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। यस बारेमा खेलकुद मन्त्री प्रमोद जयसवालले जानकारी दिएका छन्।
नेपालको राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका खेलाडीहरूमा कप्तान पुजा महतो, वीरगञ्जकी साना प्रविन, र अलिशा कुमारी यादव रहेका छन्। यी तीन खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ भने, उनीहरूको अभिभावकलाई खादा ओढाएर सम्मान गर्ने पनि प्रदेश सरकारले निर्णय गरेको छ।
यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले पनि सम्पूर्ण खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको थियो। नेपाली महिला टोलीले हालै सम्पन्न खेलमा यूएईलाई पराजित गर्दै आगामी जनवरीमा हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा स्थान पक्का गरेको हो।
मधेश प्रदेश सरकारले खेलाडीहरूको सम्मानका लागि गरेको यो पहल प्रदेशका अन्य खेलाडीलाई पनि प्रेरित गर्ने विश्वास लिएको छ। यस प्रकारका पुरस्कारहरूले खेलकुदका क्षेत्रमा प्रोत्साहन थप्ने र युवा खेलाडीहरूलाई उच्चस्तरीय प्रतियोगितामा सहभागिता जनाउन प्रेरित गर्ने आशा गरिएको छ।