वीरगंज | आजको मौसम पूर्वानुमानअनुसार, देशभर पश्चिमी वायु र पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिए पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।
तराई भेगका केही स्थानहरूमा आज बिहानदेखि बाक्लो हुस्सु (कुहिरो) लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी वीरगञ्ज र आसपासका क्षेत्रहरूमा हुस्सुको प्रभाव देखिन थालेको छ। यस कारण, बिहान र दिउँसो केही समयको लागि दृश्यता कमजोर हुने सम्भावना रहेको छ।
आज दिउँसोको मौसमको बारेमा महाशाखाले जनाए अनुसार, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने अनुमान छ, जबकि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
राति पनि, कोशी प्रदेश, बागमती, गण्डकी र कर्णालीका पहाडी भू–भागमा आंशिक बदली देखिन सक्छ भने, अन्य स्थानमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
यस मौसमको प्रभावका कारण, विशेष गरी तराई क्षेत्रमा हुस्सुको कारण सडक यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ। साथै, पहाडी भू–भागमा पनि हल्का बदलीको प्रभाव रहने भएकाले यात्रुहरूले मौसमका अनुसार तयारी गर्नुपर्ने महाशाखाले जनाएको छ।