वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार भैरहवा विमानस्थलबाट प्रहरी कार्यालयतर्फ लगिँदै। तस्बिर : हिमालप्रेस
लुम्बिनी– रूपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार नै पोखरा पर्खाउने तयारी गरेको छ। पोखराबाट रुपन्देही ल्याइएको उनलाई जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलकहाँ लगिनेछ। त्यसपछि छिट्टै बयान लिएर पोखरा फर्काइने प्रहरीले तयारी गरिएको रुपन्देही प्रहरीले जनाएको छ।
सहकारी पीडितहरूले सरकारी वकिलको कार्यालयअगाडि विरोध प्रदर्शनको तयारी गरिरहेका छन्।
दोहोरो प्रदर्शनको तयारी भएपछि प्रहरीले विमानस्थलदेखि सरकारी वकिलको कार्यालय परिसरसम्मको सुरक्षा व्यवस्था कडा पारेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।
लामिछानेलाई आइतबार चौथोपटक थप १३ दिन म्याद थप गरी हिरासतमै राख्न अनुमति दिइएको छ। उनी कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनको अभियोगमा बयानका लागि पोखराबाट बुद्ध एयरको जहाजमा रुपन्देही ल्याइएको हो।