वीरगञ्ज । दशैंपछि दीपावली र छठ पर्वका लागि वीरगञ्जसहित विभिन्न ठाउँहरूबाट काठमाडौं जाने यात्रुहरूको चाप बढेको छ। वीरगञ्जबाट काठमाडौंको लागि सवारी साधनहरूले तोकिएको दरभन्दा दोब्बरभन्दा बढी भाडा असुल गरिरहेका छन्। रात्रिबसमा ८ सय १ हजार रुपैया पर्ने भाडा अहिले १५ सय देखि २ हजार रुपैयाँसम्म पुगेको छ।
यात्रुहरूले वीरगञ्जबाट काठमाडौं पुग्न अहिले पनि महँगो भाडा तिर्न बाध्य छन्। सवारीसाधन सञ्चालकहरूले भने काठमाडौंबाट यात्रुहरू फिर्ता नआउने र खाली सवारी पठाउनुपर्ने भएकाले दुवैतर्फको भाडा एउटै यात्रुसँग लिनुपरेको सफाइ दिएका छन्। साथै, चालक खर्च र इन्धनको मूल्य वृद्धिले भाडा बढाउनुपरेको उनीहरूको तर्क छ।
अहिले टाटासुमो बसपार्कमा नलगाई अन्यत्र राखेर यात्रुहरूसँग बढी भाडा असुल गरिरहेको पाइएको छ। विद्युतीय सवारीसाधनका लागि बसपार्कबाट बुकिङ गरिए पनि तोकिएको दरभन्दा बढी भाडा लिन थालिएको छ। टिकटमा भाडादर नलेखेर भुक्तानी मात्र लेख्ने गरिएको छ, जसले यात्रुहरूमा असहज स्थिति उत्पन्न गरेको छ।
ट्राफिक प्रहरीले यात्रुहरूले बढी भाडा तिरेको विषयमा कुनै लिखित गुनासो नदिएको र स्थान–स्थानमा चेकजाँच गर्दा पनि कोही यात्रुले उजुरी नगरेका कारण कारबाही गर्न कठिनाइ भएको जनाएको छ।
स्थानियहरूले चाडपर्वको समयमा यात्रुहरूको आर्थिक दोहन हुनु अन्यायपूर्ण भएको र यसमा ट्राफिक प्रहरीको प्रभावकारी हस्तक्षेपको माग गरेका छन्।