वीरगंज | पर्सा जिल्लाका विभिन्न नाका जस्तै बार्वा, सिवान टोल, र अमरपटीबाट सीमा तस्करी बढ्दै गएको छ। स्थानीय सुरक्षाकर्मीको मिलोमतोमा लत्ताकपडा, कबाड, हार्डवेयर, कुखुराका चल्ला, गुटखा, राजनिगन्धा, डाबर पेस्ट, काजु लगायतका सामग्रीको अवैध ओसारपसार भइरहेको बताइन्छ। तस्करीमा अनिल, तारकेश्वर, र जलाउदिनलगायत व्यक्तिहरूको संलग्नता रहेको जनाइएको छ।
स्थानीय स्रोतका अनुसार, सिवान टोल र अमरपटी नाका हुँदै ठूला परिमाणमा सामानहरू नेपालतर्फ भित्र्याइन्छन् भने भारतीय सीमावर्ती गाउँबाट रातको समयमा पिकअप सवारी र पैदलभरियाको प्रयोग गरी सामग्री ओसारपसार गरिन्छ। अमरपटी, मधवल, झौवा, र इटियाहीमा रहेका ८०-१०० कुखुरा फार्महरू अवैध रूपमा भित्र्याइएका चल्लामा निर्भर छन्। साथै, घरेलु मदिरा र सिल-प्याक मदिरा पनि सीमा नाकाबाट नेपालतर्फ भित्र्याइने गरेको छ।
स्थानीय स्रोतका अनुसार, सुरक्षाकर्मीले देखावटी रूपमा केही नाकामा कडाइ गरे पनि सिवान र अमरपटी नाकामा तस्करीलाई सहज बनाइएको छ। नायब उपरीक्षक शुशिल बस्नेतको मातहतमा रहेका सुरक्षाकर्मीले तस्करहरूसँग मिलेर तस्करीलाई प्रश्रय दिइरहेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय प्रमुख कुमोद ढुंगेल र सशस्त्र प्रहरी १३ नम्बर गणका एसपी राधेश्याम धिमालले तस्करी रोक्न निर्देशन दिएका भए पनि स्थानीय सुरक्षाकर्मीले तस्करी मार्फत अवैध रकम असुल गर्दै आएको बताइन्छ।
सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शुशिल बस्नेतले आफू इमान्दार रहेको दाबी गरे पनि उनको मातहतका बिओपीहरूबाट रातको समयमा काजु, रजनीगन्धा, कबाड, कुखुराका चल्ला, चिनी लगायतका सामग्रीहरू तस्करी भइरहेकोले बस्नेतको भूमिकामा पनि प्रश्न उठेको छ।
तस्करीका गतिविधिहरूले पर्साका सीमा नाकाहरूमा सुरक्षाको कमजोरीलाई उजागर गरिरहेको छ। स्थानीयहरूले जिल्लाका प्रहरी प्रमुख ढुंगेल र सशस्त्र प्रहरीका एसपी धिमालले यो मुद्दामा ध्यान दिनु जरुरी भएको बताए। उनीहरूका अनुसार, सीमामा व्यापक तस्करी र सुरक्षाकर्मीहरूको मिलेमतोले गर्दा अवैध सामानको ओसारपसारले पर्सा जिल्लाको सुरक्षा चुनौती थपिएको छ।
सम्बन्धित निकायले छानबिन र तस्करी नियन्त्रणको कार्यमा सक्रियता देखाउन नसकेमा सीमा सुरक्षामा थप जोखिम बढ्ने र पर्सा जिल्लाको आर्थिक तथा सामाजिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने स्थानीयको आशंका छ।