वीरगञ्ज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको गोविन्दपुरबाट हस्वा जाने सडकको शिलान्यास गरेका छन्। यो सडक परियोजना संघीय सरकारको लगानीमा निर्माण हुँदैछ र यसको कुल लम्बाइ १२३६ मिटर हुनेछ।
कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले पोखरीया आउँदा बिन्दबासिनी टेक्न र तिवाले पुल पार गर्नु पर्ने अवस्थालाई समाप्त गर्दै, उक्त सडक स्थानीय बासिन्दाहरूका लागि रणनीतिक दृष्टिले महत्त्वपूर्ण रहेको बताए। यस सडकमार्फत गोविन्दपुर र हस्वा बीचको यात्रा सहज र छिटो हुने छ, जसले यहाँका नागरिकहरूको दैनिक जीवनमा ठूलो सुधार ल्याउने विश्वास व्यक्त गरे।
मन्त्री गुप्ताले विकासका योजनामा माग गर्दा आवश्यकता र महत्वको आधारमा मात्र योजना तयार गर्नुपर्नेमा जोड दिँदै भने, “धेरै माग गरेर योजना अपुरो छोड्नु भन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्ने हो।” उनले विगतमा धेरै योजनाहरू शिलान्यास भए पनि सम्पन्न नभएको घटनामा इशारा गर्दै, यसले नागरिकमा सरकारप्रतिको विश्वास घटाएको उल्लेख गरे।
मन्त्री गुप्ताले नागरिकहरूलाई “सबै कुरा सरकारले गर्छ” भन्ने सोचमा नरहन र उनीहरूले पनि आफ्नो योगदान दिनुपर्ने आवश्यकता रहेको बताए। ९३ लाख रूपैयाँको लागतमा निर्माण हुने यो सडक परियोजना मनिष कन्ट्रक्सनलाई सडक डिभिजन कार्यालय हेटौंडाले हस्तान्तरण गर्ने छ।
कार्यक्रममा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुम्न चौहान, नगर उपप्रमुख रवि ठाकुर र वडा अध्यक्षहरूले पनि मन्तब्य राखेका थिए।