वीरगञ्ज । नेपाल टेलिकमले आफ्नो ग्राहकहरूको कल ब्याक टोनमा छठ पर्वको धुन समावेश गरेको छ। यससँगै नेपाल टेलिकमको सिमबाट फोन गर्दा छठको पवित्र धुन सुनिन थालिएको छ। वीरगञ्जका विभिन्न युवाहरूको पहलमा नेपाल टेलिकमले छठको धुनलाई समावेश गरेको हो।
यस पहलको उद्देश्य छठ पर्वलाई सबै स्तरका मानिसहरूमा मनाउन र यसको महत्त्वलाई प्रवर्द्धन गर्नु थियो। नेपाल टेलिकमको यो कदम वीरगञ्जका युवाहरूका लागि एक महत्वपूर्ण उपलब्धि हो, जसले छठ पर्वको महत्वलाई डिजिटल माध्यममा फैलाउने काम गरेको छ।
वीरगञ्जका केही युवाहरूले सामाजिक सञ्जालमा नेपाल टेलिकम र एनसेललाई छठको धुन कल ब्याक टोनमा समावेश गर्न आग्रह गर्दै विभिन्न पोस्टहरू गरेका थिए। उनीहरूको यो अभियान सफल भयो र नेपाल टेलिकमले छठ पर्वको पवित्रता र महत्त्वलाई सम्मान गर्दै ‘छठ में घरे आईं’ एल्बमको ‘मारबो से सुगवा’ बोलको गीत समावेश गर्यो।
यस गीतको लोकप्रियता भारतीय म्युजिक कम्पनी टी-सिरिजको भक्ति सागर युट्युब च्यानलमा रहेको छ र छठ पर्वको समयमा यस गीतले विशेष महत्व पाउँछ।
वीरगञ्जका युवा अभियन्ता देवेश गुप्ताले नेपाल टेलिकमको यो कदमप्रति आभार प्रकट गर्दै सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन्। उनले एनसेललाई पनि छठको धुन समावेश गर्न आग्रह गरेका छन्, ताकि सबै सञ्जाल प्रदायकहरू यो महापर्वलाई समान सम्मान दिइ सकून्।
यस पहलले छठ पर्वलाई डिजिटल माध्यमबाट प्रवर्द्धन गर्न र सबै जातजातिको पर्वका रूपमा मनाउनको महत्त्वलाई स्पष्ट गरेको छ।