वीरगञ्ज। पर्सा उद्योग वाणिज्य सङ्घले सोमबार एक कार्यक्रमको आयोजना गरी पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याललाई स्वागत गरेको छ। सङ्घको सभाहलमा आयोजित कार्यक्रममा पुष्पगुच्छाका साथ प्रजिअ अर्याललाई सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले जिल्लाका उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले कानून बमोजिम अवैधानिक काम गर्ने जोसुकैलाई प्रहरी प्रशासनले कारबाई गर्ने बताउँदै व्यवसायीको समस्या सम्बोधनमा हर सम्भव प्रयास गरिने उल्लेख गरे। अर्यालले निजी क्षेत्रको सहयोग विना देशको विकास सम्भव नभएको र व्यवसायीको समर्थन बिना सरकारको राजस्व सङ्कलनको लक्ष्य पनि पूरा हुन नसक्ने धारणा व्यक्त गरे।
उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोध गुप्ताले सरकारी नीतिहरूका कारण उद्योग र व्यवसाय क्षेत्रमा सङ्कट उत्पन्न भएको बताए। उनले सरकारी निर्णय प्रक्रियामा झन्झटिलोपनले व्यवसायीहरूमा विभिन्न समस्याहरू थपिएको गुनासो पोखे। साथै गुप्ताले आगामी दिनमा सरकारलाई दिगो नीति निर्माण गरेर अघि बढ्न सुझाव दिए।
उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले प्रशासन र व्यवसायीबीचको सम्बन्धलाई सुमधुर बनाउन आवश्यक रहेको बताए। उनले व्यवसायीहरूमा कहिलेकाहीं प्रहरी प्रशासनप्रतिको डरका कारण असहजता बढ्ने र आपसी सम्बन्ध बिग्रिने भएकोले प्रशासनले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सुशासन र भ्रष्टाचारको न्यूनिकरण गर्दा देशका धेरै समस्याहरू स्वतः समाधान हुने धारणा राखे। वीउवासङ्घका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष माधव राजपाल, मनोज दास, कोषाध्यक्ष शिवजी कलवार तथा विभिन्न पूर्वअध्यक्षहरू सहितका उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो।