वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत नायब सुब्बा सुसिल प्रसाद यादव जहाँसुकै सरुवा भएपनि पुनः नारायणी अस्पतालमै फर्कने गरेका छन् । यादवको सरुवा विभिन्न कार्यालयमा भए पनि उनी ५ वर्षदेखि बारम्बार नारायणी अस्पतालमै फर्कने गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ३१ भदौ २०८१ मा बसेको बैठकले यादवलाई गृह मन्त्रालय मातहतको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो भने उनको ठाउँमा सर्लाही जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा कमलेस कुमार सहनीलाई नारायणी अस्पतालमा सरुवा गरिएको थियो । तर, कार्तिक २ मा स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार यादवलाई पुनः नारायणी अस्पतालमै पदस्थापना गरिएको छ ।
यसअघि उनी शहरी सघन भवन निर्माण शाखा पर्सामा पनि सरुवा भएका थिए, तर लगभग दुई महिना मात्र काम गरेर फेरि नारायणी अस्पतालमै फर्किए ।
यादवले संघीय मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय मातहतमा सरुवा गराउन स्वास्थ्य मन्त्री प्रदीप पौडेलका स्वकिय सचिव बिश्वबन्धु रेग्मिलाई १० लाख र पुनः स्वास्थ्य मन्त्रालयबाट नारायणी अस्पतालमै पदस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थप १० लाख रकम बुझाएका छन् ।
पदस्थापन गरिएको पत्र ।
यसरी पाँचौ तहको नायब सुब्बाले लाखौं खर्च गरेर भए पनि नारायणी अस्पतालमा बस्न खोज्नु र सरुवा रोक्नु पक्कै पनि सामान्य कुरा हैन । आखिर नारायणी अस्पतालमा के त्यस्तो विशेषता छ जसले यादवलाई बारम्बार नारायणी अस्पतालमै बस्न प्रेरित गरेको छ ?
अस्पतालका कर्मचारीहरूले यादवको भूमिकाबारे पनि गम्भीर आशंका व्यक्त गरेका छन् । उनी अस्पतालको बिल व्यवस्थापन, टेन्डर प्रक्रिया, औषधी र उपकरण खरिद, तथा अन्य आर्थिक क्रियाकलापमा मात्र नभई अस्पतालमा अनावश्यक मर्मत सम्भार गराएर आर्थिक फाइदा लिने गतिविधिमा सक्रिय देखिएका छन् ।
सरुवा हुन नचाहने यादवले नेताहरूको घर–घरमा पुगेर समर्थन जुटाएको र त्यही सहयोगको बलमा नारायणी अस्पतालमै बस्न सफल भएका छन् । यति मात्रै नभएर उनले नेताका मान्छेहरुलाई अस्पतालमा जागिर सम्म दिने गरेको स्रोतले बताएको छ ।
यस्तै नेता तथा नेताले भनेका व्यक्तिलाई आर्थिक, इन्धन तथा अन्य सरसहयोग सम्म उनले गर्दै आएका छन् । यसरी एक जना नासुले नेतादेखि बिचौलिया र हाकिमदेखि ठेकेदारसम्मलाई रिझाउन लाखौ खर्च गर्नुले उनले अवैध रुपमा अकुत सम्पती आर्जन गरेको आशंका उब्जिन्छ । ठेकेदारका विश्वास पात्रका रुपमा पनि यादव परिचित छन् । जसले उनै ठेकेदारलाई अस्पतालका सबै किसिमका टेण्डरहरुको जिम्मा दिने गरेका छन् । प्रयोगशालादेखि लिएर औषधी खरिद तथा सबै किसिमका ठेक्कामा उनकै हस्तक्षेप हुने गरेको छ ।
यस घटनाले नारायणी अस्पताललाई राजनीति र आर्थिक चलखेलको केन्द्रको रूपमा पुनः प्रस्तुत गरिदिएको छ । यसरी अस्पतालमा यादवको निरन्तर रुचि र लाखौं खर्च गराएर भए पनि नारायणी अस्पतालमै फर्कनुको कारण खोज्न आवश्यक देखिएको छ ।