भारत | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्सको १६ औँ शिखर सम्मेलनमा सहभागी हुन रुसको काजान प्रस्थान गरेका छन्। यसबारे जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
मोदीले आफ्नो पोस्टमा भारतका लागि ब्रिक्सको महत्त्वबारे उल्लेख गर्दै यस शिखर सम्मेलनमा ठूला विषयमा छलफल हुने बताएका छन्। उनले शिखर सम्मेलनका क्रममा विभिन्न नेतासँग भेटघाट गर्ने जानकारी पनि दिएका छन्।
यसअघि प्रधानमन्त्री मोदीले ८ र ९ जुलाईमा रुस भ्रमण गरेका थिए। यो वर्षको दोस्रो रुस भ्रमण भएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनुअघि भारतीय विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन गर्दै भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी)मा सेनाको गस्तीका विषयमा सहमति भएको जानकारी दिएका थिए।
ब्रिक्स विकासशील अर्थतन्त्र भएका देशहरूको समूह हो, जसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सामेल छन्।