वीरगंज | महाराष्ट्र संगठित अपराध नियन्त्रण ऐन (मकोका) अन्तर्गत विशेष अदालतले अभिनेता सलमान खानको घरबाहिर गोली चलाउने अभियुक्त विक्की गुप्ताको जमानत निवेदन खारेज गरेको छ। अदालतले यदि अभियुक्तलाई रिहा गरियो भने भविष्यमा उसले फेरि यस्ता घटनाहरू गर्न सक्ने ठहर गरेको छ। अदालतले विक्की गुप्ताको उद्देश्य सलमान खानको हत्या गर्ने नै रहेको बताएको छ।
अक्टोबर १७ मा अदालतले उक्त जमानत निवेदन खारेज गरेको भए पनि आदेशको प्रति सोमबार सार्वजनिक गरिएको हो। अभियुक्त विक्की गुप्ताले आफ्नो बचाउमा भने, “म मात्र बाइक चलाइरहेको थिएँ, गोली चलाउने व्यक्ति मेरो पछाडि बसेको थियो। मेरो सलमानलाई हानि गर्ने कुनै मनसाय थिएन, म परिस्थितिको सिकार हुँ, मलाई हिरासतमा राख्नु गलत हो।”
न्यायाधीश बीडी शेल्केले सलमान खानले दर्ता गरेको एफआईआरको उल्लेख गर्दै घटनाको गम्भीरता औंल्याएका छन्। एफआईआरमा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टको बालकनीतर्फ गोली चलाइएको स्पष्ट छ, जहाँ सलमान आफ्नो फ्यानहरूसँग नियमित भेटघाट गर्छन्। न्यायाधीशले घटनास्थलको विवरण र सलमानको एफआईआरको आधारमा अभियुक्तहरूको मनसाय सलमान खानको हत्या गर्ने भएको ठहर गरे।
मुम्बई प्रहरीले गोली चलाउने अभियुक्त विक्की गुप्ता र सागर पाललाई गुजरातबाट पक्राउ गरेको थियो। यस मामिलामा तेस्रो अभियुक्त अनुज थापानलाई पञ्जाबबाट अप्रिल २६ मा पक्राउ गरिएको थियो। मुम्बई क्राइम ब्रान्चका अधिकारीहरूका अनुसार, ग्याङस्टर लरेन्स र उनका भाइ अनमोल यस घटनामा वान्टेड घोषित भएका छन्। अनमोलले हमलापछि फेसबुकमा पोस्ट गर्दै सलमानको घरबाहिर गोली चलाएको जिम्मेवारी लिएका थिए।
लरेन्स ग्याङले यसअघि महाराष्ट्रका पूर्व मन्त्री बाबा सिद्दिकीको हत्यामा पनि संलग्नता जनाएको थियो। बाबा सिद्दिकीलाई बान्द्रामा गोली हानी हत्या गरिएको थियो। लरेन्स ग्याङका एक सदस्यले सामाजिक सञ्जालमा सलमान खानका सहयोगीहरूलाई पनि धम्की दिएका थिए।