वीरगञ्ज| काठमाडौंस्थित पशुपति गौशाला धर्मशालामा पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाको हस्तक्षेप रोक्न माग गर्दै वीरगञ्जको मारवाडी समुदायले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। मारवाडी समुदाय सम्बद्ध विभिन्न संघसंस्थाहरूले मंगलबार वीरगञ्जमा जुलुससहित पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
मारवाडी समाज सेवक संघ, मारवाडी सेवा ट्रष्ट, टिबडेवाल धर्मार्थ ट्रष्ट, वीरगञ्ज–जीतपुर गौशाला, जैन श्वेताम्भर सभा, र महेश्वरी समाज वीरगञ्जले संयुक्त रूपमा आदर्शनगरस्थित राणीसती धर्मशालाबाट शान्तिपूर्ण जुलुस निकाले। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर उक्त ज्ञापनपत्र बुझाउँदै पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिबाट खोसिनु र काठमाडौं महानगरलाई दिइनु गलत भएको बताए।
ज्ञापनपत्रमा अदालतबाट मुद्धाको अन्तिम किनारा नलागिसकेकै अवस्थामा पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिबाट धर्मशाला खोस्नु र महानगरलाई सञ्चालनको जिम्मा दिनु गैरकानूनी रहेको जनाइएको छ। मारवाडी समुदायका अनुसार, यो कार्य मारवाडी समुदायमाथिको मात्रै नभई भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण हो।
उक्त धर्मशालामा हिन्दू श्रद्धालुहरूको बसोबास, भोजनको व्यवस्था, गौ पालन, र करिब एक सय जना मिर्गौला रोगीहरूको निःशुल्क डाइलेसिस सुविधा रहेको र कानूनी रूपमा धर्मशालाको जिम्मा मारवाडी सेवा समितिलाई नै दिनुपर्ने उनीहरूको माग छ। मारवाडी समुदायले धर्मशालामा गैरकानूनी हस्तक्षेप तुरुन्त रोक्न र सदस्य सचिवले भूमाफियासँग आर्थिक लाभ लिएको आरोपको छानबिन गर्न माग गरेको छ।