बारा | पर्साको मनवामा घर अगाडिको झाडीमा लुकाइछिपाई राखिएको अवस्थामा दुई थान काठ बरामद गरिएको छ। सब डिभिजन वन कार्यालय मनवाले पर्सागढी नगरपालिका वडा नम्बर १ ठूलो मनवा गाउँमा बारीमा झाडी र परालले छोपेर राखिएको १२.५५ क्युफिट काठ फेला पारेको हो।
डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मन्जुर अहमदका अनुसार, विशेष सूचनाको आधारमा सबडिभिजन वन कार्यालय मनवाको टोलीले उक्त काठ बरामद गरेको थियो। फरेष्टर हरिभजन चौधरीले बताएअनुसार, काठ बरामद गर्ने क्रममा केही गाउँका महिलाहरूले अवरोध सिर्जना गरेपछि थप सुरक्षाको आवश्यकता परेको थियो। त्यसपछि सशस्त्र प्रहरी कार्यालय बागेश्वरी तित्रौना र इलाका प्रहरी कार्यालय एकटाँगा तथा बढ्निहार वन टोलीको सहयोगमा काठको संरक्षण सुनिश्चित गरिएको हो।
बरामद गरिएको काठ कुनै व्यक्तिले आफ्नो भएको दाबी नगरेकोले यसबारे थप अनुसन्धान भइरहेको छ। डिभिजनल वन अधिकृत अहमदले अवैध रूपमा काठको कारोबार रोक्न नियमित रूपमा छानबिन र कारबाहीलाई तीव्रता दिइने जानकारी दिए।
वन संरक्षणका लागि समुदायको सहयोग आवश्यक रहेको र कुनै पनि अवैध गतिविधि भएमा सूचना दिन आग्रह गरिएको छ। अवैध काठ तस्करीको प्रयासमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन वन कार्यालयले विशेष ध्यान दिएको जनाएको छ।