वीरगंज | काठमाडौं उपत्यकासहित देशभर बिहान-बेलुका चिसो बढ्न थालेको छ। पछिल्ला केही दिनदेखि तापक्रम विस्तारै घट्न थालेपछि चिसो महसुस हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंमा अधिकतम तापक्रम पहिले ३०/३१ डिग्री सेल्सियस पुग्ने गरेकोमा हाल २८/२९ डिग्रीमा झरेको छ। न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस पुगेको छ।
विराटनगरमा पनि तापक्रममा कमी देखिएको छ। अक्टोबर ८ मा यहाँ अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस पुगेको थियो भने अहिले ३१ डिग्रीमा झरेको छ। न्यूनतम तापक्रम २३ डिग्रीमा झरेको छ, जसका कारण बिहान-बेलुका चिसो महसुस गर्न थालिएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार धनगढी, नेपालगञ्ज, धनकुटा, र भैरहवाजस्ता देशका विभिन्न क्षेत्रमा पनि तापक्रम घट्दै जाने क्रम जारी छ। तापक्रम घट्ने दर विभिन्न स्थानमा फरक हुने र ठाउँअनुसार प्रभाव विभिन्न हुने लामिछानेले जानकारी दिए।
नेपालमा यो वर्ष मनसुन साधारणभन्दा १० दिन ढिलो गरी अक्टोबर १२ मा बाहिरिएको छ। मनसुनको समाप्तिसँगै तापक्रममा कमी आउन थालेको र त्यसले गर्दा देशभर चिसो महसुस हुन थालेको मौसमविद्को भनाइ छ।
यो वर्षको चिसो सुरु भएसँगै स्थानीय बासिन्दाहरूले बिहान-बेलुका न्यानो कपडाको प्रयोग गर्न थालेका छन्। चिसोको प्रभाव विस्तारै बढ्दै जाने अनुमान गरिएकोले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागले सुझाव दिएको छ।