वीरगंज। महोत्तरी जिल्लाको औरही नगरपालिका–७ स्थित सोनामाई मन्दिरमा आजदेखि परम्परागत भूतमेला सुरु भएको छ। दशैँको सप्तमीदेखि विजयादशमीसम्म चल्ने यो मेला अनादिकालदेखि प्रख्यात रहेको सोनामाई मन्दिरका पूजारी कामेश्वर झाले बताए।
यस भूतमेलामा भूतप्रेतले सताइएका हजारौँ पीडितहरू सोनामाईको शक्तिपीठमा पुगेर निको हुने जनविश्वास छ। पूजारी रमेश झाका अनुसार, मन्दिरको सीमाक्षेत्रमा प्रवेश गर्नेबित्तिकै पीडितहरूलाई कसले सताएको भन्ने थाहा हुन्छ र उनीहरू देवीको शक्तिमा रम्दै माताको दरबारसम्म पुग्छन्। वहाँ पुगेपछि देवीको कृपाले उनीहरूको पीडा समाप्त हुने विश्वास रहेको छ।
मेलामा महोत्तरीसहित सर्लाही, धनुषा, सिरहा, रौतहट, हेटौँडा, धरान, विराटनगर, काठमाडौँ तथा भारतका सीतामढी, मधुवनी, र पटना लगायतका स्थानबाट समेत भक्तजनहरू आउने गरेका छन्। सोनामाई मन्दिरमा दिनरात भजनकीर्तन र भूत भगाउने कार्यमा धामी झाँक्रीहरू सक्रिय रहन्छन्।
पुजारी घनश्याम झाका अनुसार, माताको दरबारमा एकपटक पुगेर आशीर्वाद लिएकाहरूलाई फेरि जीवनमा भूतप्रेत नलाग्ने जनविश्वास छ। यस वर्ष मेलामा सहभागी भक्तजनका लागि औरही नगरपालिकाले रात्रिबास, भोजन र सुरक्षा व्यवस्थाको राम्रो प्रबन्ध मिलाएको जनाएको छ।
सप्तमीदेखि विजयादशमीसम्म चल्ने यस मेलाले हजारौँ भक्तजनलाई धार्मिक आस्थासँगै आध्यात्मिक शान्ति प्रदान गर्ने गरेको छ।