वीरगन्ज | दशैको अवसरमा वीरगन्ज कपडा बैंकले सोमबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। प्रत्येक दिन आइतबारदेखि शुक्रवारसम्म बिहान १०:३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज-८ बाट गरीब तथा असहायलाई नि:शुल्क कपडा वितरण गर्दै आएको कपडा बैंकले सोमबार घण्टाघरमा करिब १ हजार थान नयाँ र पुराना कपडा वितरण गरेको कपडा बैंकका सचिव कन्हैया पटेलले जानकारी दिनुभयो।
कार्यक्रम वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी रहनुभएको थियो भने सल्लाहकारहरु अधिवक्ता प्रकाश उपाध्याय र ओमप्रकाश सराफ, समाजसेवी हुकुम सिंह राजपुत, युवा अभियन्ता केदार गुप्ता र महादेव कुर्मी, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी, संस्थाका उपाध्यक्ष प्रकाश थारु, सदस्यहरु निला राम, हरेन्द्र पटेल, संजय मंडल, जानकी देवी, नवराज भट्टराई, घण्टाघर प्रहरी पोस्टका प्रमुख असइ लालबाबु यादव र बैंकका कर्मचारी शोभा देवी लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मीले असहाय तथा दुःखीहरूको सेवा गर्ने उद्देश्यका साथ “जोसँग धेरै कपडा छ, हामीलाई दिएर जानुहोस्, जसलाई आवश्यक छ, उसले हामीबाट नि:शुल्क लैजानुहोस्” भन्ने मन्त्रलाई आत्मसात गर्दै वीरगन्ज कपडा बैंकले विगत ६ वर्षदेखि प्रत्येक दिन कार्यालयबाट र हरेक महिना विशेष कार्यक्रमहरू गरी कपडा वितरण गरिरहेको बताउनुभयो। उहाँले सबैलाई आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्न आग्रह गर्नुभयो।
सल्लाहकारद्वय उपाध्याय र सराफले पर्वको समयमा कोही पनि नाङ्गो नबसोस् भन्ने उद्देश्यले नयाँ कपडा किन्ने स्थिति नभए पनि सहायताका लागि कपडा दान गर्न आग्रह गर्दै सबै सहयोगदाताहरूप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रमका अन्त्यमा अध्यक्ष सिंहले दिन दुखीहरूको सेवा नै मानवताको सर्वोत्तम धर्म भएको बताउँदै सबैलाई यो कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो। साथै, मानवताप्रेमी सहयोगी, शुभेच्छुक, सल्लाहकार तथा पदाधिकारी सदस्यहरूप्रति धन्यवाद ज्ञापन गर्दै बडादशै, दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो।