बिरगंज | बिरगंज महानगरपालिका वडा नं. १२, मुर्लीमा एमएडब्ल्यु ग्रुपको फोटोन इलेक्ट्रिक कारको शोरुमको उद्घाटन गरिएको छ। बिरगंज महानगरका उपप्रमुख इम्तियाज आलमले एक विशेष कार्यक्रमबीच रिबन काटेर शोरुमको उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहमा उपप्रमुख आलमले बिरगंजवासीलाई अब इलेक्ट्रिक कार खरिद गर्नका लागि अन्यत्र जानु नपर्ने भन्दै खुशी व्यक्त गर्नुभयो। उहाँले इलेक्ट्रिक कारको प्रयोग र बिक्रीले स्थानीय नागरिकदेखि व्यापारी सबैलाई फाइदा पुग्ने धारणा राख्नुभयो।
हाल शोरुममा १० र १५ सिट क्षमताका दुई मोडलका फोटोन कारहरू उपलब्ध छन्। शोरुमका संचालक सदिक समानीले दशैंको अवसरमा शोरुम खुल्नुभन्दा पहिले नै कारको बुकिङ भएको जानकारी दिनुभयो। १५ सिट भएको कार एक पटक चार्ज गरेपछि २३५ किलोमिटरसम्म चल्न सक्ने र कारमा तीन लाख किलोमिटरको वा पाँच वर्षको वारेन्टी रहेको जानकारी पनि गराइयो। यसका साथै, २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्स सुविधा पनि उपलब्ध छ।
गाडीमा सबै सिट फोल्ड गर्न सकिने र एसीको सुविधा रहेको पनि उल्लेख गरिएको छ। हालसालै पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धिसँगै ग्राहकहरूको आकर्षण इलेक्ट्रिक कारतर्फ बढिरहेको पाइएको छ।
कार्यक्रमका सभापति शोरुमका संचालक सदिक मिया समानी रहनुभएको थियो भने प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम हुनुहुन्थ्यो। विशेष अतिथिमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, उद्योगपति ओमप्रकाश सिकारिया, नेजमुदिन समानीलगायतको उपस्थिति थियो।