वीरगंज | नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सौलमा चहलपहल बढेको छ। वीरगञ्जका सर्वसाधारणले दशैंको किनमेल गर्न रक्सौलतर्फ जाने गरेकाले त्यहाँको बजार चलायमान भएको हो। तर वीरगञ्ज भने सुनसान अवस्थामा छ।
सडक र फुटपाथमा मौसमी व्यापारीहरूले फलफूल, जेरी र बच्चाका खेलौनाहरू बेच्छन्, तर अन्य ‘सपिङ सेन्टर’ हरू सुनसान देखिन्छन्। वीरगञ्ज महानगरपालिका–९ का मुन्ना ठाकुरले रक्सौलमा खाद्यान्न र लत्ताकपडा २० देखि ३० प्रतिशत सस्तो हुने कारण त्यहाँ किनमेल गर्न जाने गरेको बताउँछन्।
गुप्ता भन्नुहुन्छ, “रक्सौलमा सामान सस्तो हुने भएकाले यहाँका सर्वसाधारण प्रायः त्यहाँ जान्छन्। वीरगञ्जमा गाह्रो हुँदा मात्र किनमेल गर्ने गर्छौं।”
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ता भन्छन् कि चाडपर्वका बेला रक्सौलको सीमावर्ती बजारमा भीडभाड हुने गर्छ। उनले भने, “रक्सौल सधैं गुल्जार रहन्छ, जबकि वीरगञ्ज सुनसानजस्तै हुन्छ।”
गुप्ता अनुसार, सरकारले भारतबाट आयातित वस्तुमा अत्यधिक कर लगाउँदा अवैध तस्करीको प्रवृत्ति बढेको छ। खुला सीमाले क्यारिङ गरेर भन्सार छली गर्ने प्रवृत्ति रोकिएको छैन।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई कडाइ गर्दै आएको बताए। “पहिलाभन्दा अहिले सुधार भएको छ,” उनले भने। असोज १५ सम्मको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले ४३ अर्ब ७० करोड रुपैयाँको लक्ष्यमा ३२ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरिसकेको छ। सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले दशैंमा विदेशी मदिराजन्य पदार्थको आयात भएसँगै राजस्व संकलन उत्साहजनक रहेको बताए।