वीरगञ्ज । चाडपर्वका अवसरमा हुन सक्ने अपराधिक गतिविधिहरू नियन्त्रण गर्न पर्सा प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले दशै, तिहार र छठ पर्वलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएका छन् । प्रहरी उपरीक्षक ढुङ्गेलकाअनुसार जिल्ला प्रहरीको आफ्नै टोली पनि सुरक्षामा तैनाथ छ भने जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको सयुँक्त टोली पनि परिचालन गरिएको छ ।
प्रहरी उपरीक्षक ढुङ्गेलले भने, ‘चाडपर्वमा नागरिकको चहलपहल बढ्ने र आर्थिक कारोबारको गति तीव्र हुने भएकाले लुटपाट, चोरी र ठगीका घटनाहरू बढ्न सक्ने खतरा रहेको छ । यसलाई मध्यनजर गर्दै पर्सा प्रहरीले ‘सरप्राइज चेकिङ’, साधा पोशाकमा प्रहरी परिचालन, सीमा क्षेत्रको कडा निगरानी, र भिडभाड हुने स्थानहरूमा निगरानी राखेको छ ।’ वीरगञ्जको बसपार्क, नगवा, घण्टाघर, शंकराचार्य गेट लगायतका विभिन्न सात स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) पनि स्थापना गरिएको उनले जानकारी दिए ।
प्रहरी उपरीक्षक ढुङ्गेलले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्न सर्वसाधारण नागरिकको सूचनाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । “कतै कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्तै प्रहरीलाई खबर गर्न आग्रह गर्दछु”, उनले भने । यसका लागि नेपाल प्रहरीको हटलाइन १०० र सञ्चार शाखाको ९८५५०९०३२९ नम्बरमा सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन् ।
उनकाअनुसार खुला सीमा क्षेत्रका कारण छिमेकी मुलुक भारतबाट गलत मनसाय राखेर आउने व्यक्तिहरूको गतिविधिलाई नियन्त्रण गर्न विशेष तयारी गरिएको छ । विशेष गरी लुटपाट, चोरी, र गरगहना चोरीजस्ता घटनाहरूको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था बलियो पारिएको हुँदा ढुक्क भएर चाडवाड मनाउन पनि उनले विश्वास दिलाएका छन् ।
पर्सा जिल्लामा करिब ११ सय जनाको जनशक्ति परिचालित रहेकोमा, मधेश प्रदेश प्रहरी कार्यालयबाट थप जनशक्ति मगाएर परिचालन गरिएको उनको भनाई छ । चाडपर्वमा विभिन्न धर्म, जातजाती, र समुदायहरूबीच धार्मिक सहिष्णुता कायम राख्न र सभ्य नागरिकको परिचय दिन पनि एसपी ढुङ्गेलले अपिल गरेका छन् ।
चाडपर्वको समयमा शान्ति, सुरक्षा, र सामुदायिक सौहार्द कायम गर्न प्रहरी प्रशासनले स्थानीय जनताको सक्रिय सहयोग र सतर्कता आवश्यक रहेको बताउँदै आएको छ ।
छ।