वीरगंज | मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलाशयमा भारी वर्षाका कारण पानीको सतह खतरनाक रूपमा बढेपछि आज बिहान जलविद्युत केन्द्रले बाँधका दुई ढोका खोलेर पानी निकास सुरु गरेको छ।
बाँधमा पानीको सतह नियन्त्रणमा राख्नका लागि यो कदम चालिएको हो। बाँधमा थप पानी जम्मा हुन थालेपछि सुरक्षाका लागि बाँधका अन्य ढोका खोल्नुपर्ने सम्भावना पनि रहेको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी बाँध तलको क्षेत्र सिस्नेरी हुँदै बाग्मती नदी किनाराका बस्तीहरूमा आकस्मिक बाढीको जोखिम बढेको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता लोकमान श्रेष्ठले बाँधको सुरक्षालाई ध्यानमा राख्दै दुई ढोका खोलिएको र आवश्यक परे थप ढोका खोल्न सकिने जानकारी दिएका छन्। कुलेखानीबाट तल रहेका सबै बासिन्दालाई तत्काल सतर्कता अपनाउन आग्रह गरिएको छ भने स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई सुरक्षित स्थानको तयारी गर्न निर्देशन दिइएको छ।
लगातारको वर्षाका कारण बाढी, पहिरो, र डुबानको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखेको छ। साथै, जिल्लाका विपद् व्यवस्थापन समितिहरूले आवश्यक तयारी र व्यवस्थापन गरिरहेको जानकारी दिएको छ।