धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा भागेको घटनाको छानबिन गर्न प्रहरी समितिको गठन गरिएको छ। समितिको नेतृत्व नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुरका एसएसपी सुरेन्द्र गुरुङले गर्ने भएका छन्। पाँच सदस्यीय समितिमा एसपी बोहरा र इनस्पेक्टर सन्दीप यादवसहित अन्य सदस्यहरू रहेका छन्।
घटना अनुसार, सोमबार बिहान ३:५५ बजे ९ जना थुनुवाहरूले शौचालयको भेन्टिलेटर तोडेर हिरासतबाट भागेका थिए। भाग्नेहरूमा अभास्कर कुमार यादव, रोशन कुमार मण्डल, रञ्जित मण्डल, अमित कुमार झा, विशाल मुखिया, नाबालक सुमित मेस्तर, र बिक्की कार्की रहेका छन्।
एसपी बोहराका अनुसार, ७ जना थुनुवाहरूलाई प्रहरीले फेला पारिसकेको छ भने बाँकी दुईजना अझै फरार छन्। प्रहरी फरार थुनुवाहरूको खोजीमा सक्रिय रहेको र छिट्टै पक्राउ गर्ने प्रयास जारी राखिएको जानकारी दिइएको छ।
छानबिन समितिले घटनाको विस्तृत अनुसन्धान गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
समितिले थुनुवा भाग्ने घटनामा प्रहरीको लापरबाहीको पक्षलाई पनि गहिरो रुपमा अध्ययन गर्ने बताएको छ। यस अनुसन्धानले हिरासतको सुरक्षा व्यवस्थामा भएको कमजोरीको पत्ता लगाई भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक कदमहरू सिफारिस गर्ने अपेक्षा गरिएको छ।
हिरासतबाट थुनुवा भागेको घटनापछि स्थानीय बासिन्दाहरूले प्रहरी प्रशासनप्रति असन्तोष व्यक्त गरेका छन्। उनीहरूले सुरक्षामा थप कडाइ गर्नुपर्ने माग गरेका छन्।
प्रहरीले भने घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको र फरार दुई थुनुवाहरूलाई चाँडै पक्राउ गर्न सबै स्रोत परिचालन गरिएको जानकारी दिएको छ। थप, सुरक्षा व्यवस्था बलियो बनाउँदै भविष्यमा यस्ता घटनाहरू रोक्न प्रहरी सतर्क रहने प्रतिवद्धता जनाएको छ।