विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फुकार अली भुटो र प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको जनगुनासो उठेको छ। गाउँपालिकाका सबै योजनाहरू अध्यक्षका निकट आफन्तहरूमार्फत सञ्चालन भइरहेको र भ्रष्टाचार दिन प्रतिदिन बढ्दै गएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्।
जनगुनासो अनुसार, गाउँपालिकाका योजना, बजेट, र विकास परियोजनाहरू जुबेर अलीका आफन्तहरू—जसमा साला, साडु, मामा, फुपू, र छोराहरूको समूहले संयुक्त पार्टनरशिपमा सञ्चालन गरिरहेको पाइन्छ। विशेष रूपमा प्रधानमन्त्री योजना कार्यक्रमको प्रमुखमा मेयरकै छोरा सरफराज अलीलाई नियुक्त गरिएको छ, जुन अनियमितताको स्पष्ट संकेत हो।
प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेबारे विभिन्न सञ्चारमाध्यममा बारम्बार भ्रष्टाचारसम्बन्धी समाचार प्रकाशन भए पनि कुनै कारबाही नभएको देखिएको छ। लामिछानेलाई ‘भ्रष्ट अधिकृत’ को रूपमा स्थानीयले चिन्न थालेका छन् भने, अध्यक्ष जुल्फुकार अलीले यस्ता भ्रष्टाचारमा प्रत्यक्ष संलग्नता देखाइरहेका छन्। दुबै जनाको मिलेमतोले गाउँपालिकालाई आर्थिक र विकासात्मक रूपमा भासमा हाल्दै गएको स्पष्ट देखिन्छ।
स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रको ध्यानाकर्षण गराउँदै दुबै जनामाथि तत्काल छानबिन र कारबाहीको माग गरेका छन्।