वीरगंज | संविधान दिवस र राष्ट्रिय दिवस २०८१ आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै हर्षोल्लासका साथ मनाइँदैछ। नेपाल सरकारद्वारा आयोजित मूल समारोहमा बिहान ११ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्। आज साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ।
संविधान दिवसका उपलक्ष्यमा सङ्घीय, प्रदेश, र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा विभिन्न कार्यक्रमहरूको आयोजना गरिनेछ। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि विशेष कार्यक्रम हुनेछन्।
नेपालको संविधान, २०७२ असोज ३ गते जारी भएको यो संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायतका मूलभूत पक्षलाई समेटेको छ। यो संविधान ३५ भाग, ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध छ र लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्धता प्रकट गर्दछ।
सरकारले संविधान जारी भएको दिनलाई प्रत्येक वर्ष संविधान दिवस र राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। आज यो संविधानको कार्यान्वयनमा नौ वर्ष पूरा भएको छ।
संविधान दिवसका अवसरमा काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवसको साङगीतिक प्रस्तुती समेत आयोजना गरिने छ। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र विभिन्न पार्टीका नेताहरूले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस मनाउन आम जनसमुदायलाई आह्वान गरेका छन्। सरकारले संविधान दिवसका अवसरमा दीपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैलाई आग्रह गरेको छ।