वीरगंज | वीरगञ्जमा चाडपर्व नजिकिएसँगै कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन गरिएको छ। बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय पर्सा, खाद्य प्रविधि तथा गुणस्तर नियमन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ, र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अनुगमन क्रममा वीरगञ्ज ११ स्थित न्यु अमित किराना स्टोर्स, वीरगञ्ज ८ स्थित आयुष गल्ला किराना पसल, वीरगञ्ज ६ स्थित मुकेश एण्ड केशरी किराना स्टोर्स, राहुल एण्ड नविन किराना, र मुन्ना लाल किरानालाई जरिवाना गरिएको छ। खरिद बिल नदेखाएको कारण उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ अनुसार यी पसलहरूलाई क्रमशः रु १० हजार र रु पाँच हजारका दरले जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए।
अनुगमन कार्यमा असहयोग गरेको आरोपमा राहुल एण्ड नविन किरानालाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।
पिन्टु किराना भण्डारमा सामान्य समस्या देखिएपछि त्यसलाई सजग गराइएको छ। जरिवाना गरिएको पसलहरूलाई ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा जरिवाना रकम दाखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ।
चाडपर्वको समयमा उपभोक्ताहरूलाई ठगी हुन नदिन, अत्यधिक मूल्य नलिन, र गुणस्तरहीन तथा म्याद नाघेका सामान बिक्री नगर्न व्यापारीहरूलाई सचेत गराइएको छ। नियम विपरीत काम गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।