कोलकाता। भारतीय अधिकारीहरूले एक चिकित्सकको क्रूर बलात्कार र हत्याको विरोधमा भएको उग्र प्रदर्शनपछि कोलकाता सहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन्।
अगस्ट ९ मा कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि महिला विरुद्ध हिंसाको मुद्दा देशव्यापी आक्रोशमा परिणत भएको थियो। यस घटनापछि भारतभर विरोध प्रदर्शन सुरु भयो। महिलाका लागि सुरक्षित वातावरणको माग गर्दै चिकित्सकहरूले हडताल गरे। अन्य ठाउँमा विरोध शान्त भए पनि कोलकातामा नियमित प्रदर्शन जारी छ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सोमबार राति चिकित्सकहरूसँगको बैठकपछि कोलकाता प्रहरी आयुक्त र स्वास्थ्य विभागका दुई अधिकारीलाई हटाउने घोषणा गरिन्। उनले भनिन्, “हामी स्वास्थ्य सेवाका निर्देशक र मेडिकल कलेजका निर्देशकलाई हटाउन सहमत भयौँ।”
मुख्यमन्त्रीले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गरिन्, कारण हडतालले आपत्कालीन स्वास्थ्य सेवा प्रभावित भएको छ। तर, पश्चिम बङ्गाल जुनियर डाक्टर्स फ्रन्टका प्रवक्ता अनिकेत महतोले घटनाको अनुसन्धान पूरा नभएसम्म आन्दोलन नरोकिने बताए।
हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ। तर, अनुसन्धानको तरीकालाई लिएर पश्चिम बङ्गाल सरकारले सार्वजनिक आलोचना भोग्नुपरेको छ।
भारतको सर्वोच्च अदालतले गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि राष्ट्रिय कार्यदललाई जाँच गर्न आदेश दिएको थियो। यस घटनालाई सन् २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कार र हत्यासँग तुलना गरिएको छ।