वीरगञ्ज। मधेश प्रदेशका नयाँ प्रहरी उपरीक्षक (डिआईजी) लालमणि आचार्यले नेपाल–भारत सीमाबाट हुने तस्करीलाई नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्। डिआईजी आचार्यले कार्यभार सम्हालेपछि मातहतका प्रहरी निकायलाई तस्करी रोक्न तत्काल कदम चाल्न आदेश दिएका हुन्।
डिआईजी आचार्यले बुधवार यात्रा डेलीलाई दिएको अन्तर्वार्तामा नेपाल–भारत सीमाबाट हुने तस्करीमा कुनै प्रहरी अधिकारीको संलग्नता प्रमाणित भएमा उनीहरूलाई तुरुन्त कारवाही गरिने चेतावनी दिएका छन्। उनले मधेश प्रदेशका ८ वटै जिल्लाका प्रहरी कार्यालय, ईलाका प्रहरी, र प्रहरीचौकीहरुलाई तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन जारी गरेका छन्।
उनले भने, “तस्करीको कुनै प्रमाण, जस्तै भिडियो वा तस्बिर प्राप्त भएमा तुरुन्तै सम्बन्धित प्रहरी ईन्चार्जलाई कारवाही गरिनेछ। छानबिन प्रक्रिया सुरु गरी कानूनअनुसार कारवाही गरिनेछ। यसमा कुनै सम्झौता हुनेछैन।”
विशेष गरी धनुषा लगायतका सीमावर्ती क्षेत्रमा प्रहरीकै मिलोमत्तोमा तस्करी भइरहेको जनगुनासो बढिरहँदा, आचार्यले यस विषयमा गम्भीर कदम चाल्ने संकेत दिएका छन्। उनले कनिष्ठभन्दा वरिष्ठ अधिकारीहरुलाई जिम्मेवार बनाउँदै कारवाही गर्ने बताए।
आचार्यका अनुसार खुला सीमाका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण रहेको छ, तर उनले यसलाई रोक्नका लागि आवश्यक निर्देशन दिइसकेको र दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने प्रष्ट पारे। लालमणि आचार्य यसअघि धनुषामा एसपीका रुपमा कार्यरत थिए, जहाँ उनले तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेलेका थिए।