रौतहट । गौरस्थित प्रादेशिक अस्पतालमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। बा.एडि ९०६४ नम्बरको गाडीमा आएको अख्तियारको टोलीले अस्पतालको स्टोर रुममा रहेको औषधि र उपकरणहरूको जाँच गरी मुचुल्का तयार पारेको हो।
श्रोतका अनुसार, टोलीले आवश्यक परिमाणमा उपकरण र औषधि फेला नपरेपछि उक्त विवरण मुचुल्कामा समावेश गरिएको छ। छापापछि टोलीले स्टोरकिपर राम अश्रे मुखियासँग केही समय सोधपुछ गरेको र थप अनुसन्धान भइरहेको छ।
अस्पतालका एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताए अनुसार अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरमाथि औषधि उपकरण खरिददेखि भवन मर्मत र टेन्डर प्रक्रियासम्ममा व्यापक भ्रष्टाचार गरेको आरोप लागेको छ।
स्रोतका अनुसार, टेन्डर प्रक्रिया गोप्य रूपमा गरी, टिकट काउन्टरको रकम, इन्धन, न्यानो झोला खरिद, करार कर्मचारी भर्ना, र निजी क्लिनिक तथा ल्याबसँग मिलेमतोमा लाखौं रकम अनियमितता गरिएको छ।
स्थानीय बासिन्दाले अस्पतालमा भ्रष्टाचार र अनियमितताको चर्को आलोचना गर्दै सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराएका छन्। तर, निकाय मौन बसेको उनीहरूको गुनासो छ।
अस्पतालका केही चिकित्सकहरूले अनियमितता छानबिन हुँदा आफूहरू फस्ने त्रासमा रहेको बताएका छन्। कतिपयलाई सरुवाको डर देखाएर दबाब दिने प्रयास गरिएको आरोप पनि छ।
स्थानीयहरूले सम्बन्धित निकायले छिटो छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।