वीरगञ्ज। फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालमा असमाजिक र अराजक सामग्री पोस्ट गर्ने एक युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवाका २१ वर्षीय ओमकुमार पटेल रहेका छन्।
प्रहरीले मंगलबार वीरगञ्जको वडा नम्बर १५ प्रतिमा चोकबाट उनलाई नियन्त्रणमा लिएको हो। पर्सा प्रहरीका नायब उपरीक्षक दीपक भारतीका अनुसार पटेलले नामक आइडी प्रयोग गरी विभिन्न सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने, गालीगलौज गर्ने, हातहतियारको प्रदर्शन गर्दै डर त्रास सिर्जना गर्ने, र अराजक गतिविधि गर्दै समाजमा द्वन्द्वको स्थिति सिर्जना गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो।
पटेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी सार्वजनिक शान्तिविरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको छ। प्रहरी नायब उपरीक्षक भारतीले अन्य असामाजिक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई पक्राउ गर्न खोजी जारी रहेको बताए। साथै, उनले यस्ता गतिविधि नगर्न सार्वजनिक अनुरोध गर्दै कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिए।
सामाजिक सञ्जालमा यस्ता गैरकानुनी र अराजक गतिविधिहरूमा संलग्न व्यक्तिहरूप्रति प्रहरीले निगरानी राखिरहेको र जनसुरक्षाको लागि कडा कदम चाल्ने योजना बनाएको भारतीले स्पष्ट पारेका छन्।