वीरगंज | वीरगञ्ज, २०८१/०५/२९ – हेल्प टूगेदर फाउन्डेसनको सदस्यहरूले शनिबार मानव सेवा आश्रम वीरगञ्ज शाखामा एक विशेष कार्यक्रम आयोजना गरेका छन्। यस कार्यक्रममा आश्रममा बस्दै आएकी आमाहरूलाई मेहन्दी, टिका लगाउने र खुट्टामा रङ्ग गर्ने सेवा प्रदान गरिएको हो।
कार्यक्रमको अध्यक्षता ऋषु कुमार वर्माले गरे। हेल्प टूगेदर फाउन्डेसनको तर्फबाट यस कार्यक्रमका प्रमुख सदस्यहरूमा बिराज यादव, आचल यादव, प्रिया साह, अनन्या यादव, कुम कुम राउत, आरु रोय र रेजिना पौडेलको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा, आश्रममा बस्ने आमाहरूलाई विशेष ध्यान दिइएको थियो। मेहन्दी लगाउने, टिका दिने र खुट्टामा रङ्ग गर्ने प्रक्रियाले आमाहरूको मनोबल र आत्म-सम्मानमा सकारात्मक प्रभाव परेको छ।
कार्यक्रमको उद्देश्य भनेको आश्रममा बस्ने आमाहरूलाई विशेष दिनको आनन्द प्रदान गर्नु र उनीहरूको जीवनमा एक सानो खुसी ल्याउनु रहेको बताइएको छ। फाउन्डेसनका सदस्यहरूले यस प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिने र अन्य सेवा परियोजनाहरूमा पनि संलग्न रहने प्रतिबद्धता जनाएका छन्।