वीरगन्ज। तेरापन्थ युवक परिषद वीरगन्जले आयोजना गरेको ११ दिने वृहत् रक्तदान कार्यक्रम अन्तर्गत शनिवार जैन भवनमा सम्पन्न रक्तदान कार्यक्रममा १६ महिला सहित २११ जनाले रक्तदान गरेका छन्। सह संयोजक नरेश भंसालीका अनुसार यस रक्तदानले मानवताको भावना बलियो बनाएको छ।
रक्तदान गर्नेहरुमा अन्नु कर्ण, निशा कार्की, संगिता शर्मा, कुसुम जैन, रुचिका मोरे, सारिका अग्रवाल, प्रीया गुप्ता, स्वेता श्रीवास्तव, पुजा दुगड, संगिता सरावगी, रिशिका पोखरेल लगायतका व्यक्तिहरूले रक्तदान गरे। प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कार्यक्रमको प्रशंसा गर्दै वीरगन्ज दाताहरुको शहर भएको उल्लेख गरे।
तेरापन्थ युवक परिषदका अध्यक्ष लोकेश जम्मडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि तेरापन्थ युवा परिषदका इन्टरनेशनल सचिव अमित नाहटा, नेपाल प्रभारी जितेन्द्र नौलखा लगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वीरगन्जका विभिन्न संघ संस्थाका प्रतिनिधि एवं स्थानियहरूको बाक्लो सहभागिता रह्यो।
तेरापन्थ युवक परिषदले भदौ २५ देखि असोज ४ गतेसम्म ११ दिने रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ। यसबाट १५०० पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको छ। वीरगन्जको रगत अभावलाई केही हदसम्म पूरा गर्ने योजनासहित यो कार्यक्रम विभिन्न स्थानहरूमा निरन्तर जारी रहने छ।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ पाण्डे र प्राविधिक जितेन्द्र कुश्वाहा लगायतको टिमले रक्तदाताहरूलाई सहयोग गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष लोकेश कुमार जम्मडले तथा सहजीकरण सचिव सुमित सेठियाले गरेका थिए।