वीरगन्ज। सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले जिल्ला प्रहरी कार्यालयको सहयोगमा मेरिगोल्ड स्कुल, वीरगन्ज-७ मा साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायब निरीक्षक स्वपनिल देवकोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले कक्षा ९ र १० का विद्यार्थीहरूलाई वृत्तचित्र प्रदर्शन गर्दै साइबर अपराधका विभिन्न प्रकार, त्यसले निम्त्याउने समस्या, हानि-नोक्सानी र कानुनी सजायबारे जानकारी दिए। साथै, साइबर अपराधबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा व्यापक रूपमा प्रशिक्षण प्रदान गरे। देवकोटाले सम्पूर्ण विद्यार्थीहरूलाई सचेत रहन र सुरक्षित रहन आग्रह गरे।
प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रश्न र जिज्ञासाहरू राखे। प्रमुख अतिथि देवकोटाले सबैको जिज्ञासा समाधान गर्दै सन्तुष्टि प्रदान गरे। सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक प्रहरीका सल्लाहकार एवं मुनलाइट स्कुलका डाइरेक्टर श्याम केसी, मेरिगोल्ड स्कुलका डाइरेक्टर अनमोल कोइराला, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायत विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सचिव श्रवण बहादुर रायमाझिले गरेका थिए।