रौतहट |सिकेंद्र साह । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर तीन मेवा टोल नजिक अडुवा खोलालाई तरेर किसान खेती गर्न र विद्यार्थी विद्यालय जान बाध्य छन्। अडुवा नदीमा सिमेन्टले बनेको होमपाइपमाथि बाँसको मुढा राखेर स्थानीय मानिसहरू दिनहुँ जोखिमपूर्ण आवतजावत गर्छन्।
स्थानिय सरकारका जनप्रतिनिधि पटक पटक फेरिएका छन्, तर किसानहरूको पीडा उस्तै छ। वर्षौंदेखि राज्यले खोलाको समस्या तर्फ ध्यान नदिएकाले किसानहरू दिनदिनै थप समस्यामा परिरहेका छन्। किसान अभिनय यादवका अनुसार, बाली उत्पादन भएपछिको समयमा बाली बजारसम्म पुर्याउन निकै कठिन हुने गरेको छ।
वडा नम्बर तीनका वडा अध्यक्ष रामेश्वर यादवले आफू निर्वाचित भएपछि वडाको भौतिक विकास र शिक्षामा लगानी गरेर सुधारका लागि काम गरिरहेको बताएका छन्। खोला पार गर्न पुल निर्माणका लागि नगर प्रमुखसँग कार्यपालिकामा आवाज उठाइएको पनि उनले उल्लेख गरे। प्रदेश सरकारलाई पटक पटक गुहार्दा पनि कुनै ठोस कदम नचालिएकाले पुल निर्माणमा ढिलाइ भएको उनले बताए।
यदि प्रदेश सरकार र नगरले पुल निर्माणको लागि ध्यान नदिए, किसान मात्र होइन, आफू समेत पीडित बन्ने अवस्थामा पुग्ने अध्यक्ष यादवले बताए।